जनकपुर जानकी नवमी मनाइँदै

live@khabar

जनकपुर । यहाँ १५ दिने जानकी नवमीको आयोजना भइरहेको छ। अगामी सोमबार मुख्य समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने आयोजकले जनाएको छ ।

जानकी मन्दिरका उक्तराधिकारी महन्त रामरोशन दासले शुत्रबार पत्रकार सम्मेलन मार्फत जानकी जन्ममहोत्सव (जानकी नवमी) मा हुने कार्यक्रमहरुको जानकारी दिए।

जानकी मन्दिरले राष्ट्रपति, प्रधानमन्त्री लगायत मुलुकका विशिष्ट व्यक्तिलाई औपचारिक निम्ता दिएपनि राष्ट्रपति भवनबाट मात्र सहभागिताको सहमति प्राप्त भएको दासले बताए । जानकीको जन्म वैशाख शुक्लपक्षको नवमी तिथि मध्याह्नमा भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।

वैशाख २२ बाट शुरु जन्मोत्सव जेठ ४ मा समापन हुनेछ । जन्ममहोत्सवमा धार्मिक प्रवचन, सांस्कृतिक प्रदर्शनी, रामायाण मेला, मंगलधुन, रामायणमा आधारित हाजिरीजबाफ फ्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिँदैछ । मुख्य आयोजनाको दिन दूधमती नदीमा शाही स्नानको कार्यत्रम समेत रहेको महन्तदासले बताए ।

त्रेतायुगमा जानकी दूधमती नदीमा स्नान गरेको किंबदन्ती छ । दासले जानकी जन्ममहोत्सवको दिन राष्ट्रिय बिदा दिनुपर्ने माग गरे । उनले भने, ‘सीता राष्ट्रिय विभूति हुन । तर उहाँको जन्मदिवसमा राष्ट्रिय बिदा नदिनु विडम्बना हो ।’

जानकी मन्दिरमा अहिले चहलपहल बढेको छ । मन्दिरलाई बेहुलीझैं शृंगारिएको छ । मन्दिर परिसरमा रामायण कथा, प्रवचनलगायतका धार्मिक कार्यक्रम भइरहेका छन् । श्रद्धालुको ओइरो लाग्न थालेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz