एक वर्षमा देशको हालत यस्तो, चार वर्षमा के होला ? : गजुरेल

live@khabar

काठमाडौं ।  नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले यो सरकारले एक वर्षमा गरेको कामको फेहरिस्त भन्दापनि गर्न नहुने काम के–के गर्यो भन्ने फेहरिस्त आफूहरुसँग रहेको सुनाएका छन् ।

उनले भने,‘यो सरकारले महँगी बढाउने काम गर्यो । यही सरकारको पालामा तस्करी उजागर भयो । साँढे ३३ केजी सुन गिरफ्तार भयो, तर त्यो सुन कहाँ छ भन्ने कुरा अहिलेसम्म थाहा छैन् । अहिलेसम्म यसबारेमा जनतालाई कुनै सुचना छैन् ।’ शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरणमात्रै नभएर माफीयाकरण भएको उनले आरोप लगाए । उनले भने,‘पूरै माफियाकरण भएको छ । जनतासँग प्रत्यक्ष जोडिएको विषयमा यस्तो हालत छ ।’

त्यस्तै उनले मुलुकको शान्ति, सुरक्षाको अवस्था पनि चिन्ताजनक रहेको सुनाए । गजुरेलले भने,‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन भयो । त्यसपछि पनि कयौं घट्ना भए, तर यो सरकारले जिम्मेवारी लिँदैन् । गृहमन्त्री र प्रधानमन्त्रीको अभिव्यक्ति तपाई हामिले सुनिहालेकै छौं । उहाँहरु अनुशन्धान भैरहेको छ, १२ वर्षसम्म पनि लाग्न सक्छ भन्नुहुन्छ।’

भ्रष्टाचार संस्थागत भएछ भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले नै बालिसकेको सुनाउँदै उनले भने,‘अब भ्रष्टाचार संस्थागत भएको छ । ओलीजीले देशवासीको नाममा सम्बोधन गर्दा यो एक वर्ष तयारी गर्दैमा बित्यो भन्नुहोला भनेको त उहाँले एक वर्षमै अनुपम काम भयो भन्नुभयो । विकासको जग हाल्यौं भन्नुभयो ।’

उनले यो एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? भन्दै प्रश्न समेत तेर्र्साए । उनले भने,‘अहिलेकै अवस्था चार गुणा बढ्यो भने नेपालको अस्तित्व रहला कि नरहला ? मलाई लाग्छ नेपालको अस्तित्व रहँदैन् ।’

उनले वर्तमान प्रधानमन्त्री ओलीलाई हटाएर मात्रै देशको समस्या समाधान नहुने जिकिर गरे । उनले भने,‘यो सरकारलाई कांग्रेसबाहेक सबैको समर्थन छ, उहाँलाई कसैले हटाउन नसक्ने भन्नेमा ढुक्क छ ।’

गजुरेलले अपमानित हुनेगरि पत्रकारले छापे भने १५ लाख जरिवाना र ५ वर्षको कैद गर्ने सरकारले व्यवस्था गर्न लागेको भन्दै आलोचना गरे । उनले भने,‘संसदमा दुई तिहाई छ, जे गरेपनि भैगयो नि । पञ्चायतकालिन पत्रकारकोजस्तो अवस्था भएको छ । कार्टुन बनाउने पत्रकारलाई पनि जेलमा हालिएको छ। भ्रष्टाचार गरेको मान्छेलाई पनि सोधेरमात्रै समाचार छाप्नुपर्ने अवस्था आयो ।’

उनले मुख्य समस्या राज्य व्यवस्थामा र संविधानमा रहेको पनि औंल्याए । उनले भने,‘त्यसैले यो व्यवस्था र संविधानलाई नै बदल्नुपर्छ । यो संभव छ । परिवर्तन सडकबाट मात्रै हुन्छ । जनता सडकमा आउनुपर्छ । सरकार असफल भएको छ तर यही सरकारलाई मानिरहनुपर्ने कस्तो बिडम्बना ?’

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz