रक्सी सेवनले निम्त्याउने समस्या

Sujata Shrestha

नेपाली समाजमा धेरै कुराको कुलत छ । जस्तै रक्सी, चुरोट, गाँजा तथा अन्य लागुऔषध । यो कुलत हो र यसलाई उपचारबाट ठीक गर्न सकिन्छ भन्ने ज्ञान कमै व्यक्तिलाई छ । रक्सीलाई विभिन्न नामले चिन्ने गरिन्छ । रक्सी, छ्याङ, तुम्बा, जाँड आदि भनेर नेपाली समाजद्वारा यसको नामकरण गरिएको छ । धेरै नपिईकन कहिलेकाहीँ पिउने गरेमा लामो समय खाँदा पनि यसले धेरै असर नगर्न सक्छ । दिनहुँजस्तो रक्सी पिइराख्ने, रक्सीको मात्रा बढाउँदै जाने गरेमा यसले समस्या निम्त्याउन सक्छ ।

रक्सी पिउँदाका असर रक्सी छुटाउन गर्न सकिने उपचार यस्ता छन् :

नियमित रक्सी पिउने व्यक्तिले एक दिन नपिउँदा तलतल लाग्ने, डर लाग्ने, निद्रा नपर्ने आदि शारीरिक र मानसिक समस्याहरू देखा पर्छन् । जसका कारणले उसले चाहँदाचाहँदै पनि रक्सी छाड्न नसक्ने हुन्छ । रक्सी मस्तिष्कमा एक अंगका रूपमा बसिदिन्छ, जसले गर्दा रक्सी छाड्नेबित्तिकै यी समस्या देखा पर्छन्, तर घरपरिवारलाई भने हामीलाई नटेरेर होजस्तो लाग्न सक्छ ।

रक्सीले पेट र मस्तिष्कमा मुख्यतया समस्या निम्त्याउने गर्छ । पेटमा हुने ग्यास्ट्रिकको समस्या जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खान मन नलाग्ने, अमिलो पानी घाँटीसम्म आउने, कालो दिसा आउने, उल्टी आउने आदि हुन सक्छ ।

यीबाहेक उच्च रक्तचाप बढ्ने, हातखुट्टा झमझम गर्ने, डिप्रेसनमा आउने, आक्रामक हुने, आत्महत्यामा ध्यान जानेजस्ता समस्या हुन सक्छन् ।

मस्तिष्कमा हुने समस्यामा, छारेरोग र बेहोसीको समस्या हुने, निद्रा नपर्ने, डर लाग्ने, हातहरू काँप्ने, तलतल लाग्ने, बिर्सिने समस्या, आत्मविश्वासमा कमी आदि हुने गर्छ ।

कुलत १ हप्ता या २ हप्ता औषधि खाएर चामत्कारिक हिसाबमा छुटाउन मुस्किल हुन्छ । तर, व्यक्तिको चाहना, चिकित्सकको सल्लाह र परिवारको साथ भएमा यसलाई सजिलै छुटाउन सकिन्छ ।

घरपरिवार, समाजमा यस्ता थुप्रै व्यक्ति हामी देख्न सक्छौँ र उनीहरूलाई सहयोगको खाँचो हुन सक्छ । रक्सीका बारेमा आफू पनि सचेत रहनु र अरूलाई पनि यसको उपचारबारे ज्ञान दिनु आवश्यक छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz