दर्तावाल पार्टीले विश्वमा कहिंपनि क्रान्ति गरेको पाईंदैनः मोहन वैद्य ‘किरण’

liveekhabar

काठमाडौं, १८ माघ । नेपालको जनवादी क्रान्ति यतिबेला नयाँ चरणबाट अघि बढिरहेको छ । माओवादीको एउटा ठूलो हिस्सा प्रतिक्रियावादमा पतन भइसकेपछि आन्दोलनलाई संगठित गरेर अघि बढ्न क्रान्तिकारी माओवादी तीन महिने संगठन सुदृढिकरण अभियानमा लागेको छ । यसै बेला स्थानीय निर्बाचनको चर्चा पनि चलिरहेको छ । सोही सेरोफेरोमा रहेर क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ सँग कुराकानी गरिएको कुराकानीको सारसंक्षेपः

१.पार्टीको सिंगो पंक्ति अहिले ३ महिने संगठन सदृढिकरण अभियानमा जुटेको छ । यसको महत्व र आवश्यकताबारे प्रकाश पारिदिनुहोस् न ।

पार्टी संगठन र जवस÷मोर्चाका संगठनहरुलाई विस्तार गर्नुपर्ने र सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै तीन महिने ‘संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियान संचालन’ गरिएको हो । मुलुकका सामु राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अत्यन्तै जटिल बनेर गएका छन् । यी मुद्दाहरुमा जनपरिचालनको आवश्यकता टड्कारो बनेको छ । हामीले यी मुद्दाहरुलाई लिएर जनतामा जान आवश्यक ठान्यौं र अहिले अभियानमार्फत् संगठन विस्तारसँगै जनपरिचालनलाई पनि जोडेर लैजाने सोचेका छौं । जनसम्बन्ध सुदृढ गर्ने र जनपरिचालनमार्फत् जनआन्दोलन उठाउन गर्ने सवालमा यो अभियानको विशेष महत्व रहेको छ ।

२. अभियान कसरी चलिरहेको पाउनु भएको छ ? के यो अभियानबाट क्रान्तिकारी माओवादीले वैकल्पिक राजनीतिक पार्टीको हैसियत प्रदर्शन गर्न सक्छ ?
वैकल्पिक शक्ति त हामी हुँदै हो । किनभने, अहिले हामीभन्दा यो सत्ता र व्यवस्थाका विरुद्ध अर्को शक्ति छँदै छैन । अर्को, सांगठनिक आधारमा पनि हामी बलियो बनेर अघि जाने सोचिरहेका छौं । त्यसको लागि अभियान सुरु भइसकेको छ । माघ ५ गते देशभरिका अधिकांश जिल्लामा अभियानको उद्घाटन भइसकेको छ । बाँकी रहेका जिल्लाहरुमा पनि क्रमशः अभियान चलिरहेको छ । अभियानलाई उद्देश्य अनुरुप प्रभावकारी बनाउन हामी नेतृत्व पंक्तिबीचमा निरन्तर छलफल गरिरहेका छौं । जिल्लाको सापेक्षतामा अभियान फरक फरक कार्यक्रमकाबीचबाट अगाडि बढिरहेको छ

३.यो अभियान उद्घाटन गर्दै तपाईले जनताबाट शक्ति आर्जन गरेर पुनःजनतालाई दिने भन्नुभयो । यो के भन्न खोज्नु भएको हो ? 

यो महत्वपूर्ण कुरा हो । माओले बारम्बार भन्नुभएको थियो– ‘जनताबाट लिएर जनतालाई दिनुपर्छ’ । यसलाई मान्छेले गम्भीरतापूर्वक त लिँदैनन् तर यसको एउटा विशेष महत्व छ । जस्तो दार्श्निक रुपमा भन्नुपर्दा व्यवहारमा एकदम तल जनतामा जाने, व्यहारिक रुपमा त्यसलाई लिएर सिद्धान्तको स्तरमा विकास गर्ने अथवा व्यवहारबाट सिद्धान्त, सिद्धान्तबाट व्यवहार, यो एउटा त्यो प्रक्रिया हो । दोस्रो, जनवादी केन्द्रीयता– जनताको कुरा सुन्ने, साथीहरुका कुरा सुन्ने, सबै कुरा सुनेपछि सबै कुरालाई व्यवस्थित र परिमार्जित गर्दै केन्द्रीयतालाई विकास गर्ने, जनवादबाट केन्द्रीयता, केन्द्रीयताबाट जनवाद, र तेस्रो, नेतृत्वको काम गर्ने तरिका– विशेषबाट सामान्य, सामान्यबाट विशेषमा जाने कुरा हो । नेतृत्वको विकासको तरिका पनि यही हो । यही अनुसार सोचेर हामीले जनताबाट लिएर जनतालाई दिने भनिएको हो ।

४. विगतमा जनताले माओवादीलाई अभूतपूर्व साथ दिए । राज्य दमनमा उत्रिदा ठूलो मूल्य चुकाएर माओवादीलाई बँचाए । जनयुद्धकै नेतृत्व गरेर आएका नेताहरु तीन पटक देशको प्रधानमन्त्री भए तर जनताले परिवर्तनको महसुस गर्न सकेनन् । अब क्रान्तिकारी माओवादीले परिवर्तन ल्याउनेमा जनताले विश्वास गर्ने आधार के छ ?
यसमा एक प्रकारको समस्या छ । किनभने, माओवादी नेतृत्वको एउटा पंक्तिले धोका दिइसकेपछि अब सबै माओवादी उस्तै हुन् भन्ने त देखिने भयो । तर जनताले बुझेका छन्– माओवादी धेरै प्रकारका छन् । सत्ता र सरकारमा बसेका माओवादीले धोका दिएका हुन् । अरु माओवादी पनि छन । यिनीहरु देश र जनताको पक्षमा छन् भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ । अर्को कुरा, जनताले साँच्चै विश्वास गर्ने कुरा भनेको हाम्रो काम र व्यवहारले हो । काम र व्यवहारले जनताको सेवा गर्नेतर्फ उन्मुख छ कि छैन भन्ने कुरा हामी जनताको बीचमा गएर पुष्टि गर्नुपर्छ । यसका लागि हामीले मेहनत गर्नुपर्छ, त्यो मेहनत हामी गर्छौ ।

५. तपाईहरुले अभियानका क्रममा राष्ट्रवादी शक्ति र राजनीतिक विचार नजिक भएका शक्तिहरुसँग सहकार्य, कार्यगत एकता, पार्टी एकता लगायत माध्यमबाट गोलबद्ध बनाउने कुनै योजनारतयारी गर्नुभएको छ ?

अब अहिले अभियानमा ठ्याक्कै त्यस्तो भने छैन । र, यो अभियानको बिचमा जाँदा कहाँ के के छ भन्ने कुरा देखा पर्न सक्छ, त्यसको अध्ययन हुन्छ । अहिले ठ्याक्कै त्यस्तो सम्भावना छैन । अहिले यो अभियान अरु कसैले समेटेर सुरु गरिएको पनि होइन । हामीले आफैं यस्तो अभियान चलाएका हौं । फिल्डमा जाँदा त्यस्तो अवस्था देखियो भने समावेश गर्न नसकिने भन्ने पनि होइन । अब जहाँसम्म पार्टीमा आबद्ध गर्ने कुरा हो, त्यसमा हाम्रो निरन्तर प्रयास हुन्छ । सच्चा क्रान्तिकारीहरु विभिन्न स्थानमा छरिएर बसेका छन्, तिनीहरुलाई एकीकृत र गोलबन्द गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौं । यो अभियानमा पनि हामीले त्यतातर्फ जोड दिन्छौं ।

६. देशभरि अहिले संसदवादी दलहरुका कारण असन्तुष्टि बढ्दै गएको छ, यस्तो अवस्थामा जनतासँग सशक्त विकल्प पनि देखिएको छैन, तपाईहरुले यी जनताको आन्दोलनको नेतृत्व गर्न र जनवादी क्रान्तिलाई पूरा गर्न के योजना बनाउनु भएको छ ?

पहिलो कुरा त हामीले संगठनलाई बलियो बनाउने कुरा नै हुन्छ । अभियान पनि संगठनलाई व्यापक बनाउनकै लागि ल्याइएको हो । बिना संगठन योजना ल्याउन पनि सकिन्न, संघर्ष गर्न पनि सकिन्न । यसकारण संगठनमा जोड दिएका हौं । त्यसकारण पहिलो कुरा संगठन र दोस्रो संघर्षमा जोड दिने हो । संगठन राम्रो बनेपछि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संघर्षका कार्यक्रम ल्याउने र जनपरिचालन गर्ने भनेका छौं । अहिले ठूलै प्रकारको संघर्ष हुने अवस्था देखिदैन । त्यसकारण सामान्य रुपमा ल्याउँछौं र आवश्यक परेको अवस्थामा जनतालाई संघर्षमा उतार्ने छौं । यो हाम्रा सबै प्रयत्नको मूल कुरा भनेको नयाँ जनवादी क्रान्तिको तयारी नै हो । हाम्रो योजना भनेकै नयाँ जनवादी क्रान्तिको तयारी कसरी गर्ने भन्ने नै हो । यो तयारीमा जाँदा रणनीति, कार्यनीतिलाई विकास गर्दै जानुपर्ने हुन्छ । त्यो दिशामा हामी छौं ।

७. संसदवादी दलहरु स्थानीय निकायको निर्वाचन गराउने योजनामा अघि बढेका छन् । अब तपाईहरुको भुमिका के हुन्छ ? निर्वाचनमा भाग लिनु हुन्छ कि बहिस्कार ?
अब यसमा दुईवटा कुरा गरौं । सैद्धान्तिक रुपमा भन्ने हो भने उपयोग गर्न पनि सकिन्छ र बहिस्कार गर्न पनि सकिन्छ । यो सैद्धान्तिक कुरा भयो, व्यवहारिक रुपमा भन्नुपर्दा, अब त्यो स्थितिमा ठ्याक्कै चुनावको अवस्था आयो भने के गर्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठक बस्छ र निर्णय लिन्छ । आवश्यक ठान्यो भने उपयोग पनि गर्न सक्छ, बहिस्कार गर्ने निर्णय लिन पनि सक्छ । जुन निर्णय लिन पनि सक्छौं । त्यसबारेमा अहिले नै भन्नु अलि असामयिक होला, त्यस बेला नै हामी यसबारेमा वैज्ञानिक निर्णय लिनेछौं ।

८. अहिले स्थानीय स्तरमा सरकारी निकायमा प्रतिनिधित्वका लागि पार्टी दर्ता हुनुपर्ने नियमहरु ल्याउन खोजिएको छ र दर्ता नभएका पार्टीलाई र खासगरी दोस्रो संविधान सभाको निर्वाचन बहिस्कार गरेका शक्तिलाई चेपुवामा पार्न खोजिएका खबरहरु सुनिन थालेका छन् । अब के पार्टी दर्ता गर्नुहुन्छ ?
हामीले पार्टी चाँहि दर्ता गर्दैनौं । क्रान्ति गर्ने पार्टी दर्ता गर्ने कुरा हुँदैन । हामी पार्टी दर्ता गर्दैनौं । यो निश्चित कुरा हो । दर्तावाल पार्टीले विश्वमा नै क्रान्ति गरेको पाइदैन । दर्तावाल पार्टीले क्रान्ति गरेका छैनन् । यही संसदीय व्यवस्थालाई टिकाउने पार्टीले दर्ता गरेर हुने हो । तर आमूल परिवर्तन खोज्ने पार्टी दर्ता हुदैनन् । तर कुरा के हो भने दर्ता गरेपनि नगरेपनि उपयोग गर्न या बहिस्कार दुवै गर्न सकिन्छ । कुनै न कुनै तरिकाले, कुनै न कुनै पद्धति खोजेर जान सकिन्छ । त्यसप्रति हामी सचेत छौं । यही पार्टीलाई दर्ता गरेर जाँदैनौं ।

९. हालै एक चिनियाँ अधिकारीेले भारततर्फ संकेत गर्दै चीन पनि नेपालको छिमेकी भएको बताएका छन् यसको अर्थ के हुनसक्छ । के चीन पनि नेपाल छिर्न खोजेको हो ?
यसको अर्थ त धेरै लाग्न सक्छ । एउटा कुरा के हो भने यहाँ भारतको बढी प्रभुत्व हुँदै आइरहेको र एकलौटी चलिरहेको अवस्थामा भारत मात्रै होइन, हामी पनि छौं भनेको हुनसक्छ । दोस्रो के हुन सक्छ भने भारतले बढी उत्पीडन गरिरहेको छ । हामी पनि छौं है, तर हामी हस्तक्षेपकारी भूमिकामा आउन चाहदैनौं भनेको पनि हुनसक्छ । यसका धेरै अर्थ हुने भएकाले यी सबै व्यवहारबाट प्रष्टिन्छन् ।

९ कतै नेपालको आन्तरिक मामिलामा भारत जस्तै चीन पनि प्रवेश गर्न खोजेको त होइन ?

अब त्यसलाई अहिले नै त्यसो नभनौं । किनभने, चिनियाँहरुले नेपालप्रति अहस्तक्षेपको नीति रहेको छ भनिरहेका छन् । त्यो भनिरहेका बेला यही हो भन्न त मिल्दैन । अरु के हो त्यो भविष्यमा नै थाहा लाग्ला ।

११. त्रिभूवन विमानस्थलमा भारतीय सेनाको एअर मार्सल राख्ने सहमतिसमेत गरेको समाचारहरु बाहिर आएका छन् । यसप्रति क्रान्तिकारी माओवादीको धारणा के हो ? राष्ट्रिय स्वाधिनतामाथि दिन दिनै खतराको बादल मडारिरहेको वर्तमान अवस्थामा क्रान्तिकारी तथा राष्ट्रवादी शक्तिहरुको कस्तो भूमिका हुन जरुरी छ ?
यो जेट विमानमा एअर मार्शल राख्ने भन्ने समाचार बाहिर आयो । यसबारेमा हामीले वक्तव्यमा पनि आफ्ना धाराणा बाहिर ल्याइसकेका छौं । मूल रुपमा के हो भने नेपालको राष्ट्रिय स्वाधीनतामाथिको गम्भीर खतरा हो । हामीले यही रुपमा लिन्छौं । यस्तो कुरा पहिलेदेखि नै चल्दै आएको छ र हामीले विरोध पनि गर्दै आएका छौं । यसकारणले यसमा हामीले दृढतापूर्वक प्रतिकार गर्नुपर्छ । यो सहमति भएको छ भन्ने जुन कुरा आएको छ, त्यो सार्वजनिक गरिनुपर्दछ र खारेज गर्नुपर्छ ।

अर्को कुरा के हो भने सबै देशभक्त, राष्ट्रवादी शक्तिहरु, जनताहरु एक भएर यो हस्तक्षेपविरुद्ध जुध्न मानसिक रुपमा तयार हुनुपर्छ र कार्यक्रमिक रुपमा पनि जान तयार हुनुपर्छ । हामीले पनि यी विषयहरुमा ध्यान दिँदै केही कार्यक्रमहरु त बनाउँदै आएका छौं । भारतीय विस्तारवादविरुद्ध हामीले कार्यक्रम बनाएरै विरोध गरिरहेका छौं । यसलाई निरन्तर रुपमा अघि बढाउँछौं । एक्लै र कार्यगत एकतामा माध्यमबाट पनि अघि बढ्छौं ।

१२. राष्ट्रियताको पक्षमा गरिएको तीन दलीय कार्यगत एकताको प्रक्रिया अब कसरी अगाडि बढ्छ ? दोस्रो चरणको संघर्षको कार्यक्रम आउने सम्भावना कत्तिको छ ?
अब हामी यसको समीक्षा गर्न बसेका थियौं । पहिलो चरणका कार्यक्रम राम्ररी सम्पन्न भएका छन् । दोस्रो चरणका कार्यक्रमहरु दिनुपर्छ भनेर पनि सोचेका छौं । उपयुक्त समयमा बसेर फेरि एउटा कार्यक्रम लिएर जान्छौं ।

१३. तपाई अर्थराजनीतिका ज्ञाता पनि हुनुहुुन्छ । देश अहिले रेमिट्यान्सको भरले टिकेको छ । देशको आर्थिक विकासको अवरोधक शक्ति कुन हुन् ? देशलाई विकासको गतिमा अघि बढाउन के गर्नुपर्ला ?

देश रेमिट्यान्सले टिकेको छ भन्ने कुरा सत्य हो । साथसाथै कुरा के हो भने नेपालको प्राकृतिक स्रोत, साधन, मानवीय स्रोतसाधनलाई राम्रोसँग उपयोग गर्ने हो भने देशको विकास सम्भव छ । देशभित्रका युवाहरुलाई विदेश पठाउनु पर्दैन भन्ने कुरा स्वतः स्पष्ट छ । त्यसो नगर्ने, नेपालको स्वतन्त्र अर्थतन्त्रको विकासको बाधक शक्ति के हो भन्ने कुरा गर्नुपर्दा वर्गीय रुपमा भन्ने हो भने दलाल पूँजीपति, नोकरशाह र सामन्त वर्ग हो । जसले देशको विकास गर्न चाँहदैन र सक्तैन । अर्को कुरा, त्यो वर्गको प्रतिनिधित्व गर्ने शक्तिहरु लगातार सत्ता र सरकारमा बस्दै आएका छन् । तिनीहरु नै बाधक हुन् । ती शक्ति र वर्गका विरुद्ध संघर्ष गरेर मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिन्छ । देशको प्राकृतिक र मानवीय स्रोत साधनहरुको समुचित उपयोग गरेर देश विकास गर्न अनी, रोजगार सिर्जना गर्न सकिन्छ भन्ने लागेको छ, हामी त्यो प्रक्रियामा लाग्छौं ।
मुलबाटो

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz