आज हरितालिका (तीज), पशुपतिमा ७ लाख वर्तालुले दर्शन गर्दै

live@khabar

काठमाडौ, २७ भदौ । आज हरितालिका (तीज), भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा हिन्दुधर्मालम्बिहरुले महादेवको पूजा आराधना गरी मनाउने गर्छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास अनुसार यो पर्व मनाउने गरिन्छ ।  तीजमा व्रत बस्नाले  पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविाहित केटा केटीले सम्पन्न वर वा वधु पाउने विश्वास गरिन्छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि उनले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेको पौराणिक विश्वास छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ,’ उनले भने ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले मंगलबार व्रतालुले मीठा एवं आडिला-दरिला परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारीसमेत गर्छन् । विशेषगरी माइती तथा दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ । महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् ।

पछिल्लो समय तीजका नाममा उच्छृंखलता र तडकभडक आएको छ । एक महिनाअघि देखि दर खाने, गरगहना एवं फेशन प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको संस्कृतिविद एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डन बताउँछन् । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा संस्कृतिविद् एवं धर्मशास्त्रीले जोड दिएका छन् ।

तीजमा व्रतालुको सुविधालाई मध्यनजर गर्दै आज बिहान ३ बजे देखि नै पशुपपतिनाथको मन्दिर खुल्ला गरिएको छ ।  पशुपति क्षेत्र विकास कोषका कोषका सदस्य सचिव डा. प्रदिप ढकालका अनुसार हरितालिका तिजमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधालाई मध्यनजर गर्दै तीन वटा लाईनमार्फत मन्दिरको दर्शन गर्ने व्यवस्था गरिएको छ ।

प्रत्येक लाईनमार्फत दर्शनार्थीले बिहानको समयमा एक घण्टा र दिउसोको समयमा दुई घण्टाभित्र दर्शन गरिसक्नेछन् । यो वर्ष तीजमा ७ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz