इन्टरनेटको मूल्यवृद्धि फिर्ता, मोबाइल डेटामा भने बढेकै मूल्य

live@khabar

काठमाडौं । चालु आर्थिक वर्षको बजेटमार्फत दूरसञ्चार सेवामा सरकारले १३ प्रतिशत सेवा शुल्क लगाएपछि बढेको शुल्क सर्वपक्षीय छलफलपछि फिर्ता भएको छ ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा विहीबार सर्वपक्षीय छलफलपछि इन्टरनेट सेवा प्रदायकहरु वृद्धि गरिएको शुल्क फिर्ता लिन तयार भएका हुन् । मोबाइल सेवा प्रदायकले दिने इन्टरनेट सेवाको शुल्क भने घट्ने छैन । इन्टरेनट सेवा प्रदायक, सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीबीच भएको छलफलमा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई मूल सेवाबाहेक अन्य मर्मत तथा उपकरण बिक्री गरे छुट्टै बिलिङ गरिने र त्यसमा लाग्ने कर छुट हुने सहमति भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को आर्थिक विधेयकमार्फत सरकारले इन्टरनेट सेवा प्रदायकले दूरसञ्चार सेवाबापत १३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था लागु गरेको थियो । अघिल्लो वर्ष ११ प्रतिशत रहेको दूरसञ्चार सेवा दस्तुर बढाएर सरकारले १३ प्रतिशत पु¥याएको छ । दुई ठूला टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका डाटा सेवाका ग्राहक क्रमशः ५६ लाख र ५८ लाख छन । चालु आर्थिक वर्षको बजेटमार्फत इन्टरनेटमा पहिलोपटक सेवा शुल्क लगाइएको थियो । सेवा प्रदायकहरुले मूल्य बढ्ने भनेर ग्राहकलाई बिल बढाएर पठाएका थिए ।

इन्टरनेटमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नागरिक अधिकारकर्मीले सडक आन्दोनसमेत गरेका थिए । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत मूल्यवृद्धिको चर्को आलोचना भएपछि सरकारले निर्णय उल्ट्याएको हो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz